काठमाडौँ, पुस १५ । गुरुङहरुको महान् चाड तमु ल्होसार–२०७५ को अवसरमा सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देश जारी गर्दै तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सभामुख महराद्वारा जरी सन्देशमा गुरुङ समुदायमा नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
सो शुभकामना सन्देशमा भनिएको छ– बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् ।
हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भुगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ ।
यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउनेछ ।