ललितपुर, साउन ८ गते (संसाक) । साहित्यकार तथा पत्रकार यशोदा अधिकारीको बालकथासङ्ग्रह ‘जुरेली र मयूर’ को लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको आतिथ्य र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माको सभापतित्वमा केही प्रतिनिधि साहित्यकार र पत्रकारहरूको उपस्थितिमा लोकार्पण गरियो ।
पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै साहित्यकार नेपालले हामीले भौतिक विकास र परिवर्तनलाई स्वीकार गरेपनि हामीले परिवर्तन अनुसार हाम्रो संस्कारलाई बदल्न सकेकाछैनौ, भन्नुभयो । ‘बालबालिकामाथि गरिने व्यवहारमा हामीले अहिले पनि समय सापेक्ष परिवर्तन गर्न सकेकाछैनौ’ नेता नेपालले भन्नुभयो, ‘हामीले मानवत्वबाटै देवत्व प्राप्त गरेका हौं, जन्मदा हामी सबै मानिस नै हो, आफ्नो कर्मले नै हामीलाई मानिस वा देवता के बन्ने हो त्यही बन्न लगाउँछ भन्ने कुरा हाम्रा बालबालिकालाई हामीले आजसम्म पनि सिकाएका छैनौ, यहीँ हाम्रो कमजोरी छ ।’
कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै बालसाहित्यकार प्रमोद प्रधानले नेपालमा बालसाहित्यको इतिहास लामो भएपनि चित्रात्मक बालसाहित्यका पुस्तकहरू ६० को दशकपछि मात्र प्रकाशनमा आउन थालेका हुन् भन्नुभयो । ‘लेखकले अब बालसाहित्यका पुस्तकहरू लेख्दा आफ्नो रहर र भावनामा बगेर हैन कालकका रूचि अनुसार लेख्नुपर्छ’ प्रधानले भन्नुभयो, ‘अबका बालपुस्तकहरू वास्तविकतामा आधारित, उमेर समूह तोकिएका र चित्रकलायुक्त हुनुपर्छ ।’ निश्चित आधार तोकिएर बालभावना अनुसार लेखिएका रचना मात्रै प्रभावकारी बन्नसक्ने कुरा साहित्यकार प्रधानले बताउनु भयो ।
बालसाहित्यकार अनन्त वाग्लेले साझा प्रकाशनले बालसाहित्यका पुस्तकहरूको प्रकाशनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । साझ प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जसले जति आलोचना गरेर लाञ्छना लगाएपनि आपूm त्यसबाट बिचलित नहुने र साझा प्रकाशनलाई समृद्ध र नमुना बनाइछाड्ने प्रतिबद्धता व्यक्त गर्दै साझा प्रकाशनबाट अब छापिने बालसाहित्यका पुस्तकहरू रङ्गीन र चित्रयुक्त हुन कुरा बताउनुभयो ।
कार्यक्रममा लेखिका यशोदा अधिकारी र बालसाहित्यका कलम चलाउँदै आउनुभएकी रामकला खड्काले पनि बालसाहित्य र लोकार्पित पुस्तकका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।
साहित्यकार तथा पत्रकार यशोदा अधिकारीका संसार हल्लाउने एक सय एक सङ्घर्षशील नारीहरू (जीवनीसङ्ग्रह–२०६६), क ख गीत (बालकवितासङ्ग्रह–२०६८), निषेधविरुद्ध (कवितासङ्ग्रह–२०७२) र अस्वीकार (कवितासङ्ग्रह–२०७२) प्रकाशित भइसकेका छन् । जुरेली र मयूर वहाँको पाँचौं कृति हो । यो पुस्तक बालकथाहरूको सचित्र सङ्ग्रह हो । लेखकका फुटकर प्रकाशित तथा अप्रकाशित बालकथाहरूलाई समेटेर साझा प्रकाशनले यो पुस्तक बजारमा ल्याएको हो । यशोदा अधिकारी हाल रेडियो नेपालमा कार्यरत पत्रकार हुनुहुन्छ ।(साभार यशोदा अधिकारी को फेसबुक)