काठमाडौं पुस १७ । समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान सन् २०१९ मा थप उचाइमा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक हुने बताए ।
निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु, उनले शुभकामना सन्देशमा भनेका छन्– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन, सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।
सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको उनको भनाइ छ । सन् २०१८ लाई प्रधानमन्त्री ओलीले राजनीतिक उपलब्धिको वर्षका रुपमा मानेका छन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्– जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो, सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौंँ ।
राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।