‘स्मार्ट’ चालक अनुमतिपत्र लिनेको संख्या ५ लाख भन्दा माथि

काठमाडौँ, पुस १७ । स्मार्ट चालक अनुपतिपत्र लिनेको संख्यामा वृद्धि भएको छ । ‘स्मार्ट’ चालक अनुमति पत्र लिनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच लाख ५७ हजार भन्दा माथि पुगेको छ ।

कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सेवा शुरु गरेको हो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई लाख तीन हजारको छाप्न बाँकी रहेको कार्यालयले बताएको छ ।

एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् ।

कार्यालयबाट लिइएको लिखित र ‘ट्रायल’ दुवै पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि राजश्व तिरेको कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताएका छन् । अहिले काठमाडौँ उपत्यकामा नै अरु तीन ठाउँ र देशभरका सबै कार्यालयले चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण हुनेलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेका छन् ।

पहिलेभन्दा अहिले यहाँ सेवाग्राहीको चाप कम भए पनि अन्यत्रभन्दा बढी सेवाग्राही आउँछने गरेको उनको भनाइ छ । सबै कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ ।

विभागमा भएको उपकरण पर्याप्त नभएकाले अनुमतिपत्र वितरण गर्न समस्या भएको हो । राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका सेवाग्राही कार्यालयमा आइरहन्छन् उनले भने ।