काठमाडौँ, पुस १७ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि मंगलबारबाट विशेष सुविधाको प्रारम्भ गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकलाई सहज वातावरणको सृजना गर्न मेगा बैंकको ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जानकारी गराएको छ ।
त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको समेत बैंकले बताएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखामा नमूनाका रुपमा कामको थालनि गरिएको जानकारी गराइएको छ । यस्ता खाले सेवा सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताएकी छिन् । ग्राहकलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधाको थालनि गरिएको खुञ्जेलीले जानकारी गराइन् ।
‘मेगा कस्टमर केयर अफिसर’ले ग्राहकलाई स्वागत गर्नुका साथै ग्राहकहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले ग्राहकलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने बैंकले विश्वास लिएको बताइएको छ ।