आयमूलक काममा कैदीबन्दी

ललितपुर, पुस १८ । नख्खु कारागारका कैदिबन्दी कारागारभित्र आयमूलक कार्यमा लागेका छन् । त्यहाँका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा संलग्न छन् ।

उक्त कारागारमा झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले बताएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताए ।

कैदीबन्दी पटक/पटक सरुवा भइरहने हुनाले बाहिरका व्यवसायीले कच्चापदार्थमा धेरै लगानी गर्न चाहँदैनन् । कारागारभित्रै कुनै पनि व्यवसाय छैन र तालीम पनि पर्याप्त छैन । एक वर्षमा रु एक दुई लाखको तालीमले मात्रै उनीहरूलाई दक्ष पनि बनाउँदैन उनले भने ।

कारागारमा रहेका कैदीबन्दीले अहिले पोते उन्ने, मुढा बनाउने, सिलाइ गर्ने, सारीमा पिको गर्ने काम गरिरहेका छन् । सीप भएका कैदीबन्दी आफैँले फर्निचर खोलेर काम गरिरहेको उनले बताएका छन् ।

कारागारको पुनःनिर्माण भइरहँदा त्यो काममा पनि भित्रकै कैदीबन्दीले काम गरेका छन् । अझै धेरै किसिमका काम ल्याउने हो भने धेरैलाई संलग्न गराउन सकिने उनको भनाइ छ ।

कारागारका कैदीबन्दी काममा संलग्न भइरहँदा उनीहरू र कारागार दुबैका लागि राम्रो हुने कारागार प्रशासनले बताएको छ । यहाँका धेरै कैदीबन्दी काममा संलग्न हुँदा उनीहरूसँग खाली समय हुँदैन र झैझगडाको सम्भावना कम हुने गर्दछ ।