नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने

काठमाडौँ, पुस १९ । कारागारभित्र बनाइएको पहिलो मनोसामाजिक अस्पताल अब चाँडै सञ्चालनमा आउने भएको छ । नख्खु कारागारभित्र खोलिएको यो अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जानकारी गराएको छ ।

कारागारभित्र मानसिक रोगी कैदीबन्दीको संख्यामा वृद्धि हुँदै गइरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण कार्य अगाडि बढाइएको थियो । लगनखेलमा मानसिक अस्पताल भएकोले देशभरका कैदीबन्दीमा मानसिक समस्या देखिएपछि नख्खु कारागारमा सरुवा भएर आउने गरेको जेलर जीवन दुलालले बताए ।

उक्त कारागारमा हाल मानसिक रोगीको संख्या १४० रहेको छ । कारागारमा पुगेपछि यस्तो रोग लागेर औषधि खाइरहेका बिरामी यहाँ आइरहेका छन्– दुलालले भने । कारागार प्रशासनले यहाँका तीनै ब्लकमा मानसिक रोगीलाई अरु कैदीबन्दीसँग मिसाएर राखिएको छ । त्यस्ता रोगी मात्रै एउटै ब्लकमा राख्दा जोखिम हुने भएकाले फरक ब्लकमा राखिएको जेलर दुलालले बताए ।

मानसिक रोगी कहिलेकाहीँ आवेगमा आउँदा पनि भित्रका अरु कैदीबन्दीले समालेर राख्नुहुन्छ, हामीले मात्रै सबै व्यवस्थापन गर्न सकिन्न उनले भने । अस्पताल सञ्चालनमा आउन बाँकी भएपनि यहाँ औषधि खाइरहेका बिरामीलाई मनोचिकित्सकले समयसमयमा जाँच गरिरहेका छन् ।

बिरामीलाई आवश्यकता अनुसार लगनखेलस्थित मानसिक अस्पताल लगिन्छ । अस्पताल बन्नु पहिले नै यहाँ मानसिक रोगी कैदीबन्दी धेरै आउने गरेका थिए ।

अस्पताल बन्न थालेपछि उपचार हुने भन्दै धेरै त्यस्ता रोगी सरुवा भएर आएका हुन् । जेलर दुलालले भने–अस्पताल पूरै सञ्चालनमा आएपछि यो संख्या अझै वृद्धि हुन सक्छ ।

कारागारको व्यवस्थापन आफैँमा सजिलो काम नभएको उनको भनाइ छ । मानसिक रोगी कैदीबन्दीको व्यवस्थापन अझै गाहे छ । त्यस्ता रोगीलाई जोगाउनुपर्ने र अरु कैदीबन्दीलाई असर पर्न नदिने कुरामा ध्यान दिनुपर्छ । कतिपय अरुलाई कुटपिट गर्ने, कोही लामो समयसम्म लुक्ने र कतिपय हाम फाल्न वा विष खाएर आत्महत्याको प्रयास गर्छन उनले भने भित्रका नै अरुले चनाखो भएर त्यस्ता रोगीको ख्याल गर्नुपर्ने आवश्यकता छ । मानसिक रोगीले गरेको जस्तोसुकै कसुर मुक्त हुने व्यवस्था छ ।

कुनै पनि अपराधमा अदालतले सजाय सुनाएर कारागारमा रहँदा मानसिक रोग लाग्दा ऊ कसुरमुक्त हुँदैन र कारागारले नै उपचार व्यवस्था गर्छ । देशका धेरै ठाउँमा मानसिक रोग विशेषज्ञ नहुँदा धेरैले यहाँ उपचारका लागि सरुवा गर्छन् । कारागारले जुनसुकै रोगका बिरामीको उपचार सरकारी अस्पतालमा गर्ने गर्छ ।

बिरामी पर्दा उनीहरुलाई रोगअनुसार वीर, गङ्गालाल हृदय रोग केन्द्र वा तिलगङ्गा आँखा अस्पताल लगिन्छ । गम्भीर खालका बिरामीको उपचार सरकारी अस्पतालमा ठाउँ नहुँदा समस्या पर्ने गर्छ । कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहाल परिवारसँग टाढा हुँदा कैदीबन्दीमा मानसिक रोग लाग्ने बताउँछन् ।

धेरैमा उदासिनता हुने समस्या देखिएकाले नियमित रुपमा औषधि खाइरहेका छन् । एक त बाहिरको संसार छाडेर यहाँ आएको हुन्छ त्यसमा कतिपयका परिवारले बेवास्ता गर्दा उनीहरुमा चिन्ता हुन्छ र चिन्ताले मानसिक रोग लाग्छ उनले भने । कारागारमा एक हजार बढी कैदीबन्दी छन् ।

कारागारमा नयाँ भवन बन्ने र अस्पतालका कारण कैदीबन्दीको संख्या बढिरहेको छ । शहरी क्षेत्रको भीडभाडभन्दा टाढाको यो कारागार झण्डै ४७ रोपनी क्षेत्रफलमा फैलिएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ मनोरोग विशेषज्ञसहित १२ कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ ।