कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक १२ हजार १०८ जना उत्तीर्ण

काठमाडौं, साउन १० । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । उक्त भाषाको ६८ हजार भन्दा बढीले दिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले जानकारी गराएका छन् ।

उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको भए पनि केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएकाले गर्दा एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको हो । अघिल्लो वर्षको भन्दा यो वर्षको कोटा तीन गुणा बढी रहेको खतिवडाले बताए । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउने ग्यारेन्टी नभएको ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुने भएको छ ।