काठमाडौँ, पुस २२ । फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिक उत्सवका सन्दर्भमा नेपाल आउने भएका छन् ।
उनी को दुई दिवसीय भ्रमणका लागि यही पुस २५ गते राजधानी आउने भएका हुन् । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ ।
बैठकमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचार विमर्श हुने सचिव वैरागीले बताए ।
नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने उनले जनाए ।
बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको यहाँस्थित फ्रान्सेली राजदूतावासले बताएको छ ।
यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए ।