कास्की, पुस २२ । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले पाउने हालसम्मको तलबभत्ता सामाजिक कार्यका लागि खर्च गरेका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्ता वापतको रु चार लाख ५० हजार विभिन्न संघसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले जनाए ।
उनले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि रु ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति–६ लाई रु ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु १० हजार, विभिन्न आमा समूहलाई रु ४० हजार र कास्की खेलाडी संघलाई रु २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको बताएका छन् ।
पहारीले आफ्नो निर्वाचन क्षेत्रका सिद्ध आधारभूत विद्यालय लुम्ले, ज्ञानोदय आधारभूत विद्यालय अन्नपूर्ण–६, जनसिद्ध आधारभूत हर्पन, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड प्रदान गरे ।
आउने दिनहरुमा पनि आफुले प्राप्त गर्ने तलबभत्ता सामाजिक कार्यकै लागि खर्च गर्ने उनले बताए ।