सोलुखुम्बु, साउन ११ । सोलुखुम्बुका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहँुदा उपचारमा समस्या भएको छ । यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा उपचारका लागि आउने बिरामीले विभिन्न समस्या झेल्दै आएका छन् । उनीहरु उपचारका लागि अन्यत्रै धाउनुपर्ने बाध्यता रहेको छ ।
लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी दुईजना एनएमको भरमा चलिरहेको छ । पाँचजना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा तीन जनाको पद खाली रहेको र भएका दुईजना पनि कहिलेकाहीँ बिदामा बस्दा आफूहरुले समयमा नै उपचार सेवा पाउन नसकेको त्यस क्षेत्रका नागरिकको गुनासो रहेको छ । भकाञ्जेका श्यामबहादुर बस्नेतका अनुसार स्वास्थ्य चौकीमा उपचार सेवा नपाएको महिनाँै हुँदा पनि न सिटामोल नै पाइन्छ न त स्वास्थ्यकर्मी नै सम्बधित निकायले यसको जतिसक्दो चाँडो पहल गरिदिनु उनले आग्रह गरे । जिल्लाको डाँडापारिको गाउँपालिकाका रुपमा चिनिने यस क्षेत्रका नागरिक बिरामी परे दुई दिनको पैदल यात्रापछि जिल्ला अस्पताल फाप्लु आउनुपर्ने या रामेछापको बाम्तीभण्डारमा जानुपर्ने बाध्यता छ ।
लिखुपिके गाउँपालिका–५ की गीता बस्नेतले सरोकारवाला निकायले स्वास्थ्यसेवाप्रति देखाएको उदासीनताले आफूहरुले समस्या भोग्नु परेको आरोप लगाउँदै वर्षासँगै भाइरल ज्वरोको बिरामी बढेका छन् तर तिनीहरुको उपचारका लागि चिकित्सक र औषधिको पर्याप्त व्यवस्था हुन नसक्दा नागरिकले समान्य रोगको पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य समस्या समाधानका लागि जानकारी गराइएको भए पनि सावधान हुन नसकेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष आङवाङ शेर्पाले बताए । गाउँपालिकाको मात्र समस्या नभई यहाँका दर्जनौँ स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा समेत विभिन्न तहका दरबन्दी रिक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयमा सहित अन्य स्वास्थ्य चौकीमा ४७ कर्मचारीको दरबन्दी रिक्त छ भने सो कार्यालयमा मात्रै १५ जनाको दरबन्दी रहेकामा एक वरिष्ठ जनस्वास्थ्य अधिकृत, एक ल्याब असिसटेन्ट र एक नायब सुब्बाको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २६ जनाको दरबन्दीमा स्टाफ नर्स एक, ल्याब टेक्निसियन एक र अहेब एक गरी तीन जनाको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अहेव र दुई अनमिको दरबन्दी हुन्छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहित १० जनाको दरबन्दी हुन्छ । कार्यालयका सूचना अधिकारी पवन लामाका अनुसार ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा रिक्त रहेका दरबन्दी पूर्ति एक वर्षदेखि हुन सकेको छैन । भएका कर्मचारीलाई सरुवा गरी बाहिरी जिल्लामा पठाइदिने तर सरुवा भएको स्थानमा पूर्ति नगरी दिँदा काममा समस्या भएको उनले बताए ।