राजधानीको नाममा सहमति जुट्न नसक्दा हिउँदे अधिवेशन अन्योलमा

पथरी, पुस २३ । राजधानी र प्रदेशको नाममा सहमति जुट्न नसक्दा प्रदेश १ को हिउँदे अधिवेशन टुङ्गो लाग्न सकेको छैन ।

असोज २३ मा पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन सम्पन्न गरिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।

त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति नजुट्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नसक्दा समयमै प्रदेशसभाले हिउँदे अधिवेशन पछि सरेको हो ।

प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्न लाग्दा आउँदो हिउँदे अधिवेशनमा प्रदेशको नामाङ्कन र स्थायी राजधानी टुङ्ग्याउने बताएको थियो तर सहमति जुट्न नसकेकै कारणले गर्दा हिउँदे अधिवेशन शुरु गर्न ढिलो भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

स्थायी राजधानी र नाम सहमतिबाट टुङ्ग्याउने प्रयास गर्दा गृहकार्य नपुगेको उनको भनाइ छ । त्यसमा सहमति जुटाउन अझै गृहकार्य गर्नुपरेकाले अधिवेशन शुरु हुन नसकेको उनले बताए ।

प्रदेशको नाम र राजधानी टुंगो लागे सम्भवतः हिउँदे अधिवेशन टुङ्ग्याउने सभामुख भण्डारीले बताए । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माण भैसकेकाले पनि अधिवेशनमा समय लागेको भन्न नमिल्ने उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सूर्य राईले प्रदेश सरकारको निक्कमापनका कारण प्रदेशको नाम र राजधानी अन्योलमा परेको आरोप लागाए ।

सो प्रदेशले अहिलेसम्म २३ वटा विधेयक पास गरिसकेको छ । नेपालको संविधानले संघ र प्रदेशका साझा अधिकार सूचीमा २१ वटा विषय तोकेको छ ।

संविधानले २५ वटा विषयलाई प्रदेशको अधिकारको सूचीमा राखेको छ भने १५ वटा विषयलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेको छ । संघको एकल अधिकार सूचीमा ३५ विषय समावेश गरिएका छन् ।