काठमाडौं, पुष २३ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न त्रिविले निर्देशन दिएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो ।
स्ववियू निर्वाचनको पूर्व तयारी गर्ने सम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियू निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल सकिने भएकाले २०७५ फागुन महिनामा हुने स्ववियू निर्वाचनको पूर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ ।
त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियू निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था छ । त्रिविले दुई वर्ष अगाडि पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष तोकेर स्ववियू निर्वाचन गराएको थियो ।
अघिल्लो पटक विभिन्न कारण स्ववियू निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमासमेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढंगले स्ववियु निर्वाचन हुने त्रिविको अपेक्षा छ ।