सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज कर्णाली प्रदेश(प्रदेश नं ६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना : संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।
उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुले बाक्लो उपस्थिति जनाएका थिए ।
कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु– डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत)बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लामध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३०,००० ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो ।
कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिनु यसका केहि अनुपम उदाहरणहरु हुन् । मानसरोवर जाने पर्यटकहरुको सहजताको निम्ति यसै वर्ष बैंकले हुम्लामा ए.टि.एम सञ्चालनमा ल्याएको छ ।
यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु– प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।
नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।