जापान नेपाललाई निस्वार्थ रुपमा सहयोग गर्ने मुलुक हो : परराष्ट्रमन्त्री

काठमाडौँ, पुस २३ । जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

उनले केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला बताए ।

नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् ।

नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा बन्ने अर्काे महत्वपूर्ण परियोजना हो । जापानले कृषि तथा मत्स्यपालनमा पनि नेपाललाई सघाउँदै आएको छ ।

मन्त्री ज्ञवालीले भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराउने उनले बताए ।

सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जनाए ।

विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पुर्याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पुर्याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ ।

नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ । उनले भने– अमेरिकालगायत मुलुकका लगानीकर्तामा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ, यसलाई आर्थिक विकासमा कसरी लगाउन सकिन्छ भन्नेमा हामीबीच छलफल हुन जरुरी छ ।

पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले दुई देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

पूर्ववर्ती सरकारले नियुक्त गरेकै कारण राजनीतिक आधारमा नभई कार्य जिम्मेवारी मूल्याङ्कनका आधारमा राजदूत फिर्ता बोलाउने निर्णय गरिएको भन्दै उनले भने राजदूतको मुख्य जिम्मेवारी र प्राथमिकता भनेको लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार वृद्धि हो, त्यसका लागि आर्थिक कूटनीति हाम्रो प्राथमिकता हो भन्ने पक्षलाई राजदूतले बुझ्न आवश्यक छ ।

कूटनीतिक मर्यादा कायम गर्ने सन्दर्भमा विदेशीलाई बढ्ता पहँुच भएको हो कि भन्ने पाटोलाई हेक्का राखेर भेटघाटलाई व्यवस्थित बनाउन र कूटनीतिक मर्यादाभित्र रहेर मात्र भेटघाट हुनुपर्छ भन्ने मान्यता अघि बढाउने अभ्यास गर्न लागिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । समितिले कूटनीतिक सम्बन्ध र राजदूत नियुक्तिका सम्बन्धमा मन्त्री ज्ञवालीसँग जानकारी लिएको थियो ।