ललितपुर, ललितपुरको पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनःनिर्माणका लागि सरोकार समाजले कामलााई तिब्रता दिए छ । पाटन दरवार क्षेत्रको उत्तरी भागमा रहेको उक्त भिमसेन मन्दिर २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको छ ।
पाटन दरवार क्षेत्रमा रहेको उक्त ऐतिहासिक महत्वको मन्दिर लगायतका पुरातात्विक महत्वका मन्दिरहरु क्षतिग्रस्त हुँदा पर्यटकहरुको आकर्षणमा समेत प्रभाव परेको छ। भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिकाले पुरातत्व विभागसंग स्वीकृतिका लागि पहल समेत गरेको हो। ललितपुर महानगरपालिकाको पहलमा उद्योग वाणिज्य संघ ललितपुर र स्थानीय जातीय संघसंस्थाहरु समेतको सहभागितामा ‘भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाज’ गठन भएको छ । सरोकार समाजको संयोजकमा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन रहेका छन्।
पुरातात्विक महत्वको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिका, भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति, उद्योग वाणिज्य संघ, ललितपुर, काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्ट, उपत्यका संरक्षण कोष लगायतका निकायहरुले तत्काल कार्य प्रारम्भ गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई अनुरोध गरेका थिए । सोही अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ललितपुर महानगरपालिकाले सिफारिस गरेअनुसार भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाजमार्फत नै पुनःनिर्माण गर्नका लागि स्वीकृति दिएको छ । त्त्यस्तै पुरातत्व विभागसंग पनि महानगरपालिकाले समन्वय गरिरहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले जानकारी गराए । ललितपुर महानगरपालिकाका मेयर महर्जनले पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रणालीबाट गर्दा समस्या उत्पन्न हुने र पुरातात्विक इतिहासको संरक्षण हुन नसक्ने उल्लेख गर्दै आएका छ। मेयर महर्जन भन्छन्, ‘पुरातात्विक महत्वको यस्तो सम्पदा टेण्डरमार्फत निर्माणका लागि दिँदा गुणस्तरहीन हुन्छ।’ मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सहयोग काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टले उपलब्ध गराउने भएको छ ।
भीमसेन मन्दिर पुनः निर्माणका लागि भारतीय अनुदान सहयोग उपलब्ध हुने भनिएको सो उपलब्ध नभएका कारण अन्यौलमा परेको थियो । यसरी सम्पदा क्षेत्रको पुनःनिर्माणमा अन्यौलता देखिंदा स्थानीयहरु सरोकार समाज गठन गरी आर्थिक संकलन गरेरै सम्पदा क्षेत्रको पुनःनिर्माण गर्ने तयारीका साथ उद्योग बाणिज्य संघमा आबद्ध व्यवसायीहरु लागि परेका छन् ।
भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिको पहलमा काठमाण्डौ भ्याली प्रिजर्भेशन ट्रष्टले उपलब्ध गराएको लागत इष्टमेट अनुसार उक्त भीमसेन मन्दिर निर्माण सम्पन्न गर्नका लागि चार करोड ९१ लाख रुपैयाँको लागत लाग्ने अनुमान छ । मन्दिर पुनः निर्माणको काम तत्कालै सुरु गर्नका लागि उद्योग बाणिज्य संघ ललितपुरले १० लाख रुपैया छुट्याएर राखेको पनि संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी गराए । पुरातात्विक महत्वको सम्पदा क्षेत्रको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिकाले समेत सक्दो आर्थिक सहयोग जुटाउने प्रतिवद्धता मेयर महर्जनले गरेका छन्।