गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रोकिन्छ : उपप्रमुख भण्डारी

  • बद्री पन्त

जाजरकोट, पुस २५ । गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रकम रोकिदिने भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले बताएकी छिन् । निर्माणाधीन विकास योजनाको गुणस्तरीयता, प्रभावकारीता तथा जनताको गुनासो सुन्न मंगलबार कालेगाउँ, रावतगाउँमा निर्माणाधीन विभिन्न योजनाहरुको स्थलगत अनुगमनको क्रममा उनले सो कुरा बताएकी हुन् । उपप्रमुख भण्डारीको संयोजकत्वमा गठित अनुगमन समितिले निर्माणाधीन योजनाहरुको अनुगमन गरेको थियोे ।

अनुगमनका क्रममा कालेगाउँ रिम्ना सडक मर्मत योजना, शिबालय भेरी नदि तारजाली, रावतगाउँ कोलचौर सडकको तारजाली लगाएत योजनाको अनुगमन गरेको थियो । दुई स्थानको तारजालीको काम सन्तोसजनक रहेको पाइएको उपप्रमुख भण्डारीले बताइन् । रिम्ना सडकको विभिन्न स्थानका खाल्डाखुल्डी पुर्नको लागि रोडा गिट्टी हाल्ने र सहज बाटो बनाउनको लागि ५ लाख बजेटको काम भने राम्रो गरेको नपाइएको भण्डारीको भनाइ छ । कामको जिम्मेवारी लिएको उपभोक्ता समितिले रोडा गिट्टी हाल्नेमा बालुवा मात्र हालेको पाइयो, सुधार गर्न भनेका छौ अटेरी गरे रकम भुक्तानी नहुने उनले बताएकी छिन् ।

निर्माण उपभोक्ता समितिलाई समयमै काम सक्न र गुणस्तरीय काममा जोड दिन उपप्रमुख भण्डारीले निर्देशन दिइन् । उनले गुणस्तरहीन काम गर्ने र समयमै काम सम्पन्न नगर्ने निर्माण उपभोक्तालाई नगरले भुक्तानी नदिने र रोक्ने जनाएकी छिन् । नगरपालिकाले गुणस्तर तथा समयावधिमै काम सम्पन्न गर्न र राम्रो काम गर्न उपभोक्ता समितिलाई निर्देशन जारी गरेको छ । नगरको सबै वडामा समान विकास गर्ने गरी योजना निर्माणको काम शुरु गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम वेलवासेले विकास योजना निर्माण सन्तोषजनक रहेको बताएका छन् । उनले केहि स्थानमा मात्र ढिलासुस्ती र निर्माणमा जनगुनासो आएको बताए । जनताको गुनासो सुल्झाउन अनुगमनलाई तिव्र पारिएको उनले जनाएका छन् । निर्माण तथा मर्मतमा रकम विनीयोजन गरीएको छ ।

विगतको जस्तो काम नगरै रकम भुक्तानी दिइदैन् वेलबासेले बताए । एउटा योजनाको २ पटकसम्म अनुगमन गरीन्छ उनले भने । नगरबाट सडक, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य, सिचाई, पशु, कृषि लगायतका क्षेत्रमा रकम विनियोजन भएको नगरले जनाएको छ ।