आकाशे पुलको प्रयोग बढाउन अभियान शुरु

काठमाडौँ, पुस २५ । नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी रुपमा कार्यक्रम ल्याएको छ ।

अभियानकै रुपमा गत आइतबारबाट प्रारम्भ भएको सो कार्यक्रम अन्तर्गत आकाशे पुलको प्रयोग प्रवद्र्धन गर्न अभियान ल्याएको हो ।

आकाशे पुल भए पनि त्यसको प्रयोग नगरी मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा वृद्धि भएपछि उक्त अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

उक्त अभियान कादम्बरी मेमोरियल कलेजका विद्यार्थी र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको छ । यो अभियान एक हप्तासम्म चलाइने छ ।

नियमित काठमाडौँ बस्ने नागरिकका लागिभन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस्तो अभियान चलाइएको प्रवक्ता डङ्गोलले बताए । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको कामपाको भनाइ छ ।

कामपाले यस किसिमको व्यवस्था प्रारम्भ गरेपनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे पुल छैन भने भएका पुलहरुको मर्मतमा भने कामपाले ध्यान दिएको पाइँदैन ।

गत साउनमा नै कामपाकोे आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन । यस अभियानमा महानगरमा भएका नौवटा आकाशे पुलका हरेक मुखमा विद्यार्थी बस्नेछन् ।

यसअनुसार उनीहरु २२ स्थानमा रहनेछन् । यसका लागि ५० विद्यार्थी परिचालित हुनेछन् । यो अभियान हरेक दिन मध्याह्न २ बजेदेखि साढे ४ बजेसम्म सात दिनसम्म चल्ने महानगरको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले जनाएका छन् ।