उपत्यकामा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाइने

काठमाडौँ, पुष । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा पार्किङ्ग गर्ने सवारी साधनलाई ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्राामा साँचो) लगाइदिने भएको छ ।

महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत रुपमा हुने पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य प्रारम्भ गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाही अन्तर्गत ‘ह्वील लक’ लगाउन थालिएको बताए । मङ्गलबारबाट प्रारम्भ गरिएको सो अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाही अन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्न थालेको छ ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।

यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारबाट उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही प्रक्रिया अगाडि बढाएको हो ।