काठमाडौँ, पुस २७ । नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । आज २९७आँै पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा बोल्दै उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई सम्मान गरेको जानकारी गराए ।
नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम पृथ्वीनारायण शाहले नै गरेको स्मरण गर्दै उनले भने, उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो । पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र हँुदैन थियो । रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उनले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको प्रष्ट पारे ।
उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने जिकिर गरे । शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हँुदै सिंहदरबार आएर समापन भएको थियो ।