भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाको तेस्रो दिन सम्ममा करिब २० करोड कारोवार

भक्तपुर, पुस २९ । भक्तपुर सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा तेस्रो दिन सम्ममा करिब २० करोडभन्दा बढीको कारोबार भएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा तेस्रो दिन (शनिबार) मात्र करिब १० करोड रुपैयाँ र तीन दिनसम्ममा जम्मा २० करोडको बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए ।

मेलामा इलेक्ट्रोनिक्स तथा अन्य सामानहरुमा २० देखि ५५ प्रतिशत सम्मको छुटको व्यवस्थाले पनि कारोवार बढेको उनको भनाई छ । मेला अवलोकनमा आउनेहरुका लागि विभिन्न सांगितिक प्रस्तुतीले पनि मनोरन्जन प्रदान गरेको छ भने तेस्रो दिनको आर्कषणका रुपमा गुल्मिज गाईजको प्रस्तुती रहेको थियो । तेस्रो दिनमा मेला आयोजकले मिस्टर वल्र्ड महेश्वर महर्जन लगायत विभिन्न संस्थाहरुलाई समेत सम्मान गरिएको छ । मेलामा तीन दिनसम्म करिव ७० हजार अवलोकनकर्ताले अवलोकन गरेको संयोजक प्रजापतिले जानकारी दिए । मेलामा अटोमावाइल स्टलहरुमा गाडीहरुको वुकिंङ तथा यामाहाको स्टलबाट मोटरसाइकल विक्री समेत भएको उनले बताए ।

पुस ३० गतेसम्म चल्ने मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए । मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोवाईल, एलइडि टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतिय सामग्रीहरुले अवलोकनकर्ताहरुको ध्यान तानेको आयोजकले जानकारी दिएको छ । मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रुपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।