‘परदेशी’ को सिक्वेल बन्ने तयारी

काठमाडौं, पुस १९ । चलचित्र जगतमा सफल भएका फिल्मको सिक्वेल निर्माण हुने वंशालुगत नै भएको छ । तर सिने जगतमा चलचित्र ‘छक्का पञ्जा’ र ‘नाई नभन्नु ल’ र को सिक्वेललाई छोडेर अरु चलचित्रको सिक्वेल नेपालमा राम्रो बनेको कुनै रेकर्ड छैन । अधिकांश चलचित्रको सिक्वेलले दर्शकको मन जित्ने प्रयास केबल नामले भन्ने ठानेका छन् तर अबका दर्शक पनि लाटा छैनन् । सिनेमा चलाउनका लागि एक दुइवटा राम्रो सिन र गीतले दर्शक तान्छ भन्ठानेर सबैले ट्रेलरमा अलिबढी फोकस गर्छन् । त्यसको साटो फिल्मा नै ध्यान केन्द्रीत गरेर बनाएको भने सायद राम्रो फिल्म बन्थ्यो होला ।

चर्चित निर्देशक नारायण रायमाझीले २०७२ सालमा प्रदर्शनमा आएको बल्कबस्टर फिल्म ‘परदेशी’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । अहिले उनी फिल्मको कथामा काम गरिरहेका छन् । फागुनबाट फ्लोरमा जाने तयारी रहेका उक्त चलचित्रमा अहिले कथामा काम भइरहेको छ । तर, कलाकारहरु फाइनल नभएको बताइएको छ ।

‘परदेशी’ मा ’इण्डियन आइडल’ प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा प्रशान्त दोहोरिने वा नदोहोरिने फाइनल नभइसकेको निर्देशक रायमाझीले जानकारी गराए ।

‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए, जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो । दुई पटकको सहकार्य फलिफाप भएका कारण उनी ‘परदेशी २’ मा पनि प्रशान्तलाई दोर्होयाउने सोचमा छन् । केही फिल्ममा काम गरेपनि ‘परदेशी’ पछि प्रशान्त काँचको पर्दाबाट टाढा छन् । फिल्ममा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्का, केशव भट्टराईलगायतका कलाकारहरुको अभिनय थियो ।