संगठन निर्माण अभियानमा गाउँगाउँमा महिला संघ

बद्री पन्त
जाजरकोट, २९ पुस । नेपाल महिला संघ जाजरकोट यतिबेला आफ्नो संगठन निर्माणमा जुटेको छ । नेपाल महिला संघमा आवद्ध महिला नेत्रीहरु पार्टीले चुनाव हारेको डेढ वर्ष पछि गाउँगाउमा पुगेर संगठन निर्माणमा लागेका हुन । संगठन निर्माणको अभियान लिएर गाउँ पसेका हुन । आसन्न जिल्ला अधिवेसन तथा केन्द्रीय महाधिवेसनलाई केन्द्रित गरि गाउँमा संगठन वनाउने काममा सक्रिय भएका हुन । संविधान र पार्टीको संशोधित विद्यान अनुसार जिल्लाका ७ वटै स्थानीय तहमा आफनो सांगठनिक संरचना तयार गर्न नेपाल महिलासंघ जाजरकोटकी अध्यक्ष मैना कार्की रावल र सचिव सरीता सिंह लगाएतका महिला नेत्रीहरु गाउँ अभियानमा लागेका हुन ।

पार्टीको संगठनलाई क्रियाशील र मजवुत वनाउन आफुहरु गाउँ जागरण तथा संगठन निर्माण अभियानमा लागेको महिला संघ जाजरकोटकी अध्यक्ष मैना कार्की रावलले बताएकी छिन् । उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसदको चुनाव सकिएको लामो समयपछि पार्टी गाउँ नपसेको र पार्टीका आगामी गतिविधिहरुलाई सहज र प्रभावकारी वनाउनका लागि पनि आफुहरु अहिले संगठन निर्माणको अभियान लिएर संगठन निर्माणमा लागेको रावलले बताएकी छिन् । उनले महिला संघ र नेपाली काँग्रेस पार्टीको संगठन र राजनैतिक गतिविधिहरुलाई गतीशील वनाउन विभिन्न कार्यक्रमहरु सन्चालन गरेको जानकारी गराइन् । आफुहरुले वनाउने विभिन्न अभियान तथा कार्यक्रमहरुले पार्टीका नेता कार्यकर्ताहरुलाई व्यस्त वनाइ राख्न सहयोग गर्ने बताएकी छिन् ।

महिला संघ जाजरकोटकी सचिव सरीता सिंहले महिला संघको संगठन निर्माणको अभियान जिल्लाको शिवालय गाउँपालिकावाट सुरु गरिएको जानकारी गराइन् । शिवालयमा सम्पन्न महिला संघमा आवद्ध महिलाहरुको भेलाले सिर्जना रेग्मी को अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रुपमा चयन गरेको सचिव सिंहले बताइन् । त्यस्तै छेडागाड नगरपालिकाको थलह वजारमा सम्पन्न महिलाहरुको भेलाले कालिकादेवी सिहंको अध्यक्षतामा २१ सदस्यीय नगरपालिका समिति गठन गरेको सचिव सिंहले वताएकी छिन् ।

जुँनीचादे गाउँपालिका, कुशे गाउँपालिकामा गाउँपालिका समिति निर्माण भएको छ भने बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र भेरी नगरपालिकामा गाउँ तथा नगरपालिका समिति निर्माण गर्न बाँकी रहेको छ । महिलाहरुको संगठन निर्माण तथा गाउँ जागरण अभियानले पार्टी संगठनलाई जीवन्त वनाउन ठुलो मद्दत गरेको काँग्रेस जाजरकोटका कोषाध्यक्ष तेज बिक्रम शाहले बताए । पार्टीका सवै भातृ तथा भगिनी संगठनहरुले स्वस्फुर्त रुपमा आफना गतिविधिहरुलाई जनता र कार्यकर्ता मुखी वनाए नेपाली काँग्रेस सकरात्मक रुपमा मजवुत वन्दै जाने शाहको भनाइ छ ।