इलाम, पुस ३० । १६ औँ पटकको अनसनको छैटौँ दिन आज डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी गराए । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन नमानेको उनले सुनाए ।
केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको वार्ताटोलीका सदस्य भण्डारीले जानकारी गराए । डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका हुन् ।