काठमाडौँ, पुस ३० । सडक विस्तारको काम शुरु भएको दुई वर्ष वितसकदा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा माथि हुन सकेको छैन । सर्वाेच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी गराएको छ । यो सडकको निर्माण अवधि तीन वर्ष रहेकामा दुई वर्ष सकिँदा पनि भौतिक प्रगति भने ज्यादै कम देखिएको हो
। स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा मागेको र अहिले आएर जग्गाकोसमेत मुआब्जा माग्न थालेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले जानकारी गराए । स्थानीयवासी एकजुट भएर मुआब्जा नपाउँदासम्म काम गर्न नदिने अडान ाखे पछि काममा बाधा पुगेको उनले बताए । उनले नगरपालिकाले पहल गर्दा पनि स्थानीयवासी सडक विस्तारका लागि जग्गा छाड्न नमानेका पछि काम रोकिएको स्पष्ट पारे ।
जनप्रतिनिधिले चाँहदा पनि सडक विस्तारको काम हुन नसकेको उनले बताए । उक्त सडकको दायाँबायाँ रहेका रुखका कारणले पनि लामो समयसम्म काम अवरुद्ध भएको आयोजनाले जानकारी गराएको छ । अहिले वन विभागबाट स्वीकृति लिएर रुख हटाइएको छ । सम्बन्धित निकायबाट उक्त सडकका लागि सहयोग नहुँदा ठेकेदारले काम अघि बढाउन नसकेको उनले बताए ।
उपत्यकामा विस्तार हुन लागेका १२ सडकमध्ये सो सडक एक हो । करिव १० किलोमिटर लामो उक्त सडक २०७३ जेठ महिनादेखि निर्माण शुरु गरिएको पनि काम कहिले सकिन्छ भन्ने कुराको भने अन्यौलता नै छ ।