काठमाडौँ, माघ १ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको प्रक्रिया अगाडि बढाएको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको बताएका छन् ।
उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको जानकारी गराउँदै उनले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको बताएका छन् । अहिले छानबिनको प्रारम्भिक चरणमा भएको र अहिले नै भ्रष्टाचार भयो या भएको छैन भन्ने कुनै आधार नभएको बताएका छन् । छानबिनपछि सबै कुरा बाहिर बताउँदै उनले भने, एनफा भित्रको यथार्थ कुरा हामि बाहिर ल्याउछांै । गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएकोलगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल संघले केही दिनअघि अख्तियारमा उजुरी हालेका थिए ।
उजरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ । गत पुस १७ गते फुटबल संघ ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गराएका थिए । यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी समेत दिएको छ । आरोप लगाएर मात्र नहुँने लगाएका आरोप प्रमाणित गर्नुपर्ने एन्फा प्रवक्ता किरण राईले बताएका छन् ।
आरोप प्रमाणित भए कारवाहीको भागेदार आफु हुन तयार भएको बताउँदै उनले भने, अन्यथा जिल्ला फुटबल संघहरूमाथिनै कारवाही हुन्छ । एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३ गते बोलाएको प्रवक्ता राईले जानकारी गराए । कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले जानकारी गराएका छन् ।