सुर्खेत, माघ २ । नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार नेता डा महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको जिकिर गरे । मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेसले नेतृत्वदायि भुमिका निभाएको स्मरण गर्दै उनले भने, कांग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भएको थियो ।
बहुलवादमा विश्वास गर्ने पार्टी कांग्रेस नै भउको जीकिर गर्दै उनले भने, समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ । मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु ९०० अर्ब राजश्वमा वृद्धि हुनु, तत्कालीन चार हजार गाविसमा स्वास्थ्य सेवा पु¥याउनु र १६ लाख हेक्टर जमीनमा सिँचाइ हुनुमा कांग्रेसको देन रहेको नेता महतले जानकारी गराए । आफू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा आर्थिक सल्लाहकार र पछिल्लो पटक विभिन्न सरकारमा अर्थमन्त्री हुँदा मध्यपश्चिमलाई केन्द्रबिन्दुमा राखेर विकास दिएको उनको दावि गरेका छन् ।
कार्यक्रममा कांग्रेस नेता डा चन्द्र भण्डारीले कांग्रेस पार्टी नभई पाठशाला भएको बताएका छन् । नेतृत्वको कारण पार्टी कमजोर भए पनि यो मुलुकमा कम्युनिष्टबाट देश विकासको आशा गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।