माघ ५ मा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौँ, माघ ३ । यही माघ ५ गते नेपाल र भारतका युवा उद्यमीको सहभागितामा काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्रा्िष्ट्रय उद्यमशीलता सम्मेलन’ हुने भएको छ । भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने जानकारी गराइएको छ ।

भारतीय राजदूतावासका द्धितिय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको जानकारी गराए । सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धीका जानकारहरु सहभागी हुने जानकारी गराइएको छ ।

सम्मेलनका लागि सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ । त्यसलाई लगानीकर्ता र उद्यमीको अगाडि सम्मेलनका अवसरमा प्रस्तुत गरिने क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीकोसमेत सहभागिता रहने र विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा रहने बताइएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सीताराम दाहालले सम्मेलनले पर्यटन उद्योगको विकासमा टेवा पुग्ने भन्दै सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने आशा व्यक्त गरेका छन् ।