काठमाडौँ, साउन १२ । व्यवस्थापिका–संसदमा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रियालाई अघि बढाइने नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताए ।
उनले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गरे । पार्टी केन्द्रीय समितिका अधिकांश सदस्यको धारणा र प्रक्रिया अघि बढाउनुपर्ने र संशोधन प्रस्ताव पारित गर्न आफुले प्रयत्न गर्ने महामन्त्रीे डा. कोइरालाले बताए ।
महामन्त्री डा कोइरालाले पार्टीभित्र भागबण्डा नभएको भन्दै सबैलाई मिलाएर सहमतिमा लाने प्रयास गरिएको बताए । राजनीतिक भागबण्डाको संस्कृतिलाई अन्त्य गर्न आफ्नो प्रयास सदैव जारी रहने डा.कोइरालाले जनाए ।
कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको साझा चरित्र बचाउनु पर्ने आवश्यकता रहेको औँल्याए । महासंघको महाधिवेशनमा युनियनका तर्फबाट निष्पक्ष तरिकाले सक्षम उम्मेदवार चयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीका तर्फबाट कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने कुरामा जोड दिए ।
युनियन केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि आयोजित उक्त चियापान कार्यक्रममा महासंघ र युनियनका पूर्वअध्यक्षसहितका पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।