हत्या हिंसा, बलात्कार, कालोबजारी, भष्ट्राचारको सरकार रमिते : नेता कोइराला

बारा, माघ ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारको नारा मात्र समृद्ध नेपाल निर्माण भएको बताउँदै उनले भने ,वाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनु आवश्यक छ ।

विभिन्न वाहानामा दोषि लुकाउने षड्यन्त्र भए कसैलाई मान्य नहुने उनले जिकिर गरेका छन् । बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले सिम्रौनगढमा आयोजना गरेको आमसभामा उनले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाएका छन् ।

यस्ता घटनाको सरकार रमिते मात्र भएको उनले बताए । केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको जानकारी गराए । नेता चोधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप समेत लगाएका छन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । पूर्वसांसद डा शोभाकर पराजुलीले संघीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाएका छन् । कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।