काठमाडौँ, माघ ४ । नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको बिहीबार राति निधन भएको छ । कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनकोे आफ्नै निवास गोँगबुमा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा लगिएको थियो । पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ ।
यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका उनले नेपाल विद्यार्थी संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए ।