काठमाडौँ, माघ ४ । थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सफल भएनन् । उसका चार खेलाडीले खाता खोल्न सफल भएनन् ।
नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिन सफल भए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बन्न सफल भयोे । एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो ।
९२ रनको जित, टि–२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । विकेटको आधारमा प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो ।
यसअघि सीतालेनै युएईसँग बनाएको ३७ रन सर्वा्धिक व्यक्तिगत योगफल थियो । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १२० रन बनाएको थियो । नेपालले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाउन सफल भएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाउँन सफल भइन् ।
यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएइलाई छ विकेटले र अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले हराएको थियो ।