‘गरुड पुराण’ ले पायो सोलो रिलिज

नेपाली फिल्मा सोलो रिलिज पाउनु भनेको एक अविश्वसनीय कुरा हो जुन भाग्यवश मिल्यो फिल्म ‘गरुड पुराण’ लाई । देशभर वर्षमा ५२ वटा हप्ता हुन्छन् तर यसबीच वर्षमा लगभग १०० वा सोभन्दा बढी फिल्म बन्ने र रिलिज हुन्छन् । नाम चलेका कलाकार, निर्देशक र निर्माण टिमले मात्र सोलो रिलिज जेनतेन पाउँछन् नत्र अधिकांश फिल्मको भिडन्त दुईभन्दा बढी फिल्मसँग हुनु सामान्य हुने गरेको पाइएको छ ।

हरेक हप्ता दुई बढी फिल्म फ्लोरमा आएता पनि माघ महिनाको पहिलो हप्ता भने फिल्म ‘गरुड पुराण’ एक्लै हलमा लागेको छ । कमेडीले भरिएको फिल्म ‘गरुड पुराण’ टिमलाई भने यतिबेला भाग्यले राम्रोसँग साथ दिएको छ ।
शुक्रवारबाट प्रदर्शनमा आएको सो फिल्मले एकल प्रदर्शन पाउँछ भन्ने निर्माण टिम कसैलाई पनि विश्वास नै थिएन ।
हुन पनि ‘म त पिरिममा’ गीतले फिल्मको राम्रो हाइप निर्माण गरेको थियो । साथै कमेडीले भरिएको ट्रेलरले फिल्मप्रति दर्शकमा चासो बढाएको थियो । ‘गरुड पुराण’ ले एकल प्रदर्शन पाउनुको पछाडि नाम चलेका कलाकारलाई पनि मानिएको छ ।

यस फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले भोगेको संघर्षको रमाइलो कथा उठाइएको छ । फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा छन् । फिल्ममा कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडालगायतको पनि अभिनय छ । प्रियंका सिंहलले यस फिल्मबाट नै नवोदित नायिकाको रुपमा डेब्यु गरेकी हुन् । सोलो रिलिज पाएको यस फिल्मले हेरुँ कतिको फाइदा उठाउला ? त्यो भने हेर्न नै बाँकी छ । निर्माण टिमलाई शुभकामना ।