कांग्रेसका दुई नेताको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, माघ ४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

कांग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जानकारी गराएको छ । पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको थियो । उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै सभापति देउवाले सिन्धुपाल्चोक कांग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जानकारी गराएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।