काठमाडौँ, माघ ६ । नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’को स्थापना गरेको छ । झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन महानिरीक्षक खनालले प्रहरी अधिकारीहरूलाई निर्देशन समेत दिएका छन् ।
अधिकांश स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू स्थापना भइसकेको बताउँदै उनले प्रहरीको एउटै मात्र उद्देश्य समुदायसँग मिलेर अपराध न्यूनीकरण तथा शान्ति, सुरक्षा र अमनचैन कायम गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । गुण्डागर्दीलाई जरैदेखि फाल्न सबै लाग्न निर्देशन दिँदै उनले गुण्डागर्दी जस्ता अपराध जन्य गतिविधि समाजमा देखिए खबर गर्न समुदायलाई आग्रह गरेका छन् ।
सुरक्षित र शान्त वातावरणमा बस्न पाउँने नागरिकको अधिकार कसैले हनन् गर्न नसक्ने स्पष्ट पार्दै उनले भने यस्तो कहि कतै पाइएमा हामिलाई तत्काल सम्पर्क गर्नुहोस त्यसलाई कानुनि कठ्घारामा उभ्याउने जिम्मा मेरो भयो । कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शान्ति र भयरहित समाज निर्माणले मात्रै समृद्ध नेपाल बन्नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले सेवाग्राहीलाई अन्योल नहोस् भनेर अस्थायी कार्यालयमा नै सहायता कक्ष स्थापना गरिएको जानकारी गराउँदै काठमाडौँको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्रका प्रतिनिधि अच्यूत सापकोटाले प्रहरीसँगको साझेदारीले नागरिकलाई शान्ति सुरक्षाको महसुस भएको जानकारी गराए । भवन निर्माणका लागि नेपाल बङ्गलादेश बैंकले सहयोग गरेको जानकारी गराइएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका, विश्वास नेपाल र संरक्षक समुहबाट फर्निचर र टेलिभिजन उपलब्ध भएको परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताएका छन् ।सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने उनले जानकारी गराएका छन् ।