दमौली, माघ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको औंल्याएका छन् । नेपाली कांग्रेस तनहुँ कार्यलयले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिएका छन् ।
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने जानकारी गराएका छन् । सबै एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिएका छन् ।
महासमिति बैठकबाट पारित विधान उत्कृष्ट बनेको जिकिर गर्दै सभापति देउवाले राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान कांग्रेस पार्टीको आत्मविश्वासको प्रतिक भएको प्रष्ट पारेका छन् । तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने जानकारी गराउँदै सभापति देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले उसका क्रियाकलाप विरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै कांग्रेसको हारको मुख्य कारण भएको बताउँदै कम्युनिष्ट पार्टी मिलेर मात्र नभएर पार्टीभित्रै एकता नहुँदा कांग्रेस आज यो अवस्थामा पुगेको जानकारी गराए । बाहिर जति नै हामि एक छौं भने पनि एकता भएको भान भित्र नभएको उनले बताए । तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शङ्कर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्व केन्द्रीयसदस्य कृष्णचन्द्र नेपालीलगायतले कांग्रेसको जनआधार अहिले पनि बलियो रहेकोले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।