नेपाल पुस्तकालय संघको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौँ, माघ ७ । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचितभएका छन् । अधिकारी त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुन् । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज गैरे र कोषाध्यक्षमा रीता शर्मा निर्वाचित भएको संघले जानकारी गराएको ।

यही माघ ५ गते भएको निर्वाचनले संघको सदस्यमा गोविन्द चौलागाईं, वसन्त पौडेल, केन्द्रा फोम्बो, सुषमा बस्नेत, अञ्जु श्रेष्ठ, शैलेन्द्रकुमार गुप्ता र रितेस नेवाः लाई निर्वाचित गरेको छ । नेपाल पुस्तकालय संघ व्यावसायिक पुस्तकालायकर्मीको एक पेशागत संघ हो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजमा औपचारिक तथा अनौपचारिक दुवै किसिमका ज्ञान फैलाउन पुस्तकालयको महत्व रहेको जानकारी गराउँदै प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास गर्न सरकारसँग सहकार्य र समन्वय गरिने बताएका छन् ।