शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ २५ देखि, तीन विभागीय टोली विजयी, आर्मीलाई स्वर्ण

काठमाडौँ, माघ ८ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता यही माघ २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्दै लिग यही माघ २५ देखि शुरु हुने जानकारी गराएको छ । एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’ मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै एन्फाले ‘बी’ डिभिजन गर्न लागेको हो ।

‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसपटकको लिगमा घटुवा बढुवा हुने छैनन् । तर १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । एन्फाले निकालेको समूह विभाजनअनुसार समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब, बोइज युनियन क्लब रहेका छन् । समूह ‘बी’ टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।

आगामी चैत २१ गतेसम्म हुने प्रतियोगितामा ३६ वटा खेल हुनेछन् । साथै विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ढोरपाटन महिला भलिबलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा सोमबार भएको पहिलो खेलमा एपिएफले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । एपिएफले दाङलाई २५–२०, २५–११ र २५–८ को सेटमा हराएको थियो । यसैगरी आर्मीले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–३, २५–७ र २५–४ को सेटमा हराउन सफल भयो ।

आर्मीले अपराजित रहँदै तीन खेलबाट नौ अङ्क जोड्न सफल भएको थियो । सोमबार नै भएको तेस्रो खेलमा नेपाल पुलिस क्लबले सेब स्कूललाई २५–१३, २५–१३ र २५–९ को सेटमा हराउन सफल भएको थियो । प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार पाउनेछ भने दोस्रो हुनेले रु दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुनेले रु ६० हजार, पाँचौँ हुनेले रु ४० हजार, छैठौँ हुनेले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले एक÷एक स्कुटर पाउने जानकारी गराइएको छ । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्रप्त गर्ने आयोजकले जानकारी गराएको छ । त्यस्तै नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा स्वर्ण जित्न सफल भएको छ । सोमबार नै भएको उक्त खेल फाइनलमा आर्मीले ललितपुरलाई ३–० ले पराजित गर्नै सफल भएको थियो । भक्तपुर र एपिएफ संयुक्तरुपमा तेस्रो हुन सफल भएका थिए ।

उक्त प्रतिस्पर्धाको ब्वाइजमा एपिएफ पहिलो भएको थियो । एपिएफले उपाधि भिडन्तमा ललितपुरलाई ३–१ ले पराजित गर्यो । मोरङ र आर्मी तेस्रो बन्न सफल भएका थिए । साथै अर्को खेल १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको जेड आलेमगर र बेदाङ गौतम यु–१२ ब्वाइज सिङ्गल्समा सोमबार नै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तावलाई ६–० र ६–१ तथा बेदाङले भरुण सर्वागीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्न सफल भएका थिए ।

सोही स्पर्धामा बोरिस अधिकारीले देवाशिश रेउलेलाई ६–० र ६–० तथा शास्वत बज्राचार्यले आर्यम्यमान जोशीलाई ६–४ र ६–० को सिधा सेटमा हराउँदै प्रिक्वाटर फाइनलमा स्थान बनाए । मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिङ्गल्समा उत्सा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगिन् ।