माघ १६ गते धराबासीसहित तीन जना सम्मानित हुँदै

भद्रपुर, माघ ९ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट कार्य सम्पन्न भएको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले बताएका छन् । एक दर्जन बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित भइ सकेका छन् ।

कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति गठन गरेको थियो । कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका झापा संवाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कार यही माघ १६ गते प्रदान गरिनेछ ।