काठमाण्डौ, माघ ९ । यतिबेला आफ्नो प्रचार प्रसारलाई चुस्त बनाउने क्रममा चलचित्र ‘रणवीर’ अग्र स्थानमा रहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘रणवीर’ का कलाकार र निर्माता यतिबेला मोफसल टुरमा छन् । निर्देशक गोविन्द सिंह भण्डारी भने फिल्मको काम अझै नसकिएका कारण हिँड्न सकेका छैनन् ।
फिल्म माघ १८ बाट प्रदर्शनमा आउँदैछ ।
पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र नभइ कथावस्तुको हिसाबले पनि राम्रो भएको नवनायिका सुवेक्षा खड्काले बताइन् । अभिनेता शुशीलले भने फेरि एकपटक फिल्ममा आफ्नो चरित्रलाई न्याय गर्न १५ केजी तौल बढाएको बताए ।
अर्की नवअभिनेत्री सुपुष्पा भट्टले नेपाली फिल्ममा आफूलाई दर्शकले मिठो स्वागत गर्नेमा विश्वस्त रहेको जनाइन् । उनले ‘रणवीर’ मा अडिसन दिएर सेलेक्ट भएको बताउँदै फिल्ममा मेरो क्यारेक्टरले केही न केही छाप भने पक्कै छाड्ने बताइन् ।’ निर्माता द्वय गोमा र दीपेन्द्रले कथा राम्रो लागेर फिल्ममा लगानी गर्न तयार भएको बताए ।
साउथ इन्डियन फिल्ममा समेत काम गरिसकेका निर्देशक भण्डारीद्वारा लिखित कथामा आधारित भएर निर्माण भएको फिल्ममा टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेश्वरी सिंह,लगायतको पनि अभिनय रहेको छ । फिल्ममा माया, मित्रता र बदलाको कथालाई राम्रो र सहजता ढंगले प्रस्तुत गरिएको बताइएको छ ।