काठमाडौँ, माघ ९ । नेपालका ससक्त जनशक्ति यूवाहरु हजारौको संख्यामा विदेशीने क्रम बढ्दो छ । यूवाहरु लक्ष्ति कार्यक्रम भने नेपालमा खासै भएको पाइन्दैन । सोही कुरालाई मध्यनजर गर्दै अब भने सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’को आयोजना गरिने भएको छ ।
अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४०० बढी प्रतिनिधिको सहभागिता रहने सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी गराएका छन् ।
सरकारको ध्यान पनि समृद्ध राष्ट्र निर्माणको अभियानमा भएको जानकारी गराउँदै उनले भने, हामी पनि उद्योग व्यवसायको विकास होस् भन्ने चाहन्छौँ, खासमा हामीले नेपालमा औद्योगिक वातावरण बनाउन चाहेका छौँ, त्यसैका लागि यो सम्मेलन हो । सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको बताउँदै उनले त्यसका लागि प्रदेशमा के कस्ता सम्भावना छन् भनेर सबै उद्योगमन्त्रीलाई समेत भेला गर्न लागिएको स्पष्ट पारेका छन् ।
सातै प्रदेशमा के सम्भावना छ भन्ने कुराको पहिचान नभएसम्म प्रदेशमा उद्यमशीलता विकास नहुने भएकाले सम्मेलन फलदायी हुने विश्वास लिएको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी गराएका छन् । नेपालमा पूँजी छैन के गर्ने कसो गर्ने भन्नु भन्दा कहाँ के मा लगानी गर्दा फाइदा हुन्छ भन्ने कुराको पहिचान गर्नु आवस्यक भएको उनले बताए ।
उद्यमशीलतामा लगानी गर्न अझै हिच्किचाउने अवस्था रहेको बताउँदै उनले भने, यस्तो बीचमा हुन लागेको सम्मेलन आफैँमा महत्वपूर्ण छ । उनले लगानी वृद्धि नगरी उत्पादन वृद्धि नहुने र उत्पादन वृद्धि नभए निर्यात पनि बढाउन नसकिने भएकाले युवा उद्यमीलाई व्यवसायमा सहभागी गराउनु जरुरी रहेको स्पष्ट पारेका छन् । धेरै ऐन उद्योगमैत्री बनाएर संशोधनको तयारीमा रहेको बताउँदै सिंहले त्यसपछि एउटा वातावरण तयार हुने कुरामा ठुक्क हुन आग्रह गरेका छन्.।
सम्मेलन सकिएपछि सन् २०१९ भित्रै सात प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गरेर लगानीको वातावरण सिर्जना गर्न पहल गरिने युवा उद्यमी विशाल गैरेले जानकारी गराएका छन् । पछिल्लो समयमा घर, जग्गा तथा सटरमा लगानी बढ्दो रहेको भन्दै यसलाई विस्थापित गरेर उद्योग व्यवसायमा लगानी गर्न प्रेरणा जगाउनुपर्नेमा व्यवसायीले जोड दिएका छदएका छन् ।
सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने जानकारी गराइएको छ ।