राष्ट्रिय पत्रकारिता पुरस्कार कविर राणा र समिरजङ्ग शाहलाई प्रदान गरिने

पोखरा, माघ ९ । नेपाल प्रेस युनियन कास्की शाखाले यही फागुन ७ गते आफ्नो शाखाको नवौं अधिवेशन गर्ने भएको छ । सो अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने तय गरेको छ । युनियन कास्कीको बुधबार सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै सोही दिन उक्त पुरस्कार समेत प्रदान गर्ने निर्णय गरेको युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी गराएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समिरजङ्ग शाहलाई संयुक्त रुपमा प्रदान गर्ने निणय गरेको हो । पुरस्कारको राशि रु ३५ हजार ५५५ रहेको बरालेले बताएका छन् । सो रकम दोसल्ला र सम्मानपत्र सहि प्रदान गरीने समेत उनले जानकारी गराएका छन् ।

युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यसअघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गङ्गाधर पराजुलीलाई प्रदान गरिएको थियो । पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा रु १२ लाख रहेको छ ।

कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले बताएका छन् । अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिने नेपाल प्रेस युनियन कास्की शाखाले जानकारी गराएको छ ।

साथै आफ्ना शाखाका सदस्यलाई आफ्नो सदस्यता नवीकरण गर्न र नयाँ सदस्यतालिन चाहानेका लागि सदस्यता वितरण तथा आन्तरिक तयारीलाई तिव्रता दिएको जानकारी गराइएको छ ।