देशका अधिकांश भेगमा वर्षा र हिमपात

काठमाडौँ, माघ ९ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट सोमबारदेखि शुरु भएको वर्षा मंगलबार रातिदेखि देशका मध्य तथा पूर्वी भेगसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले जानकारी गराएका छन् । यो क्रम आज रातिसम्म कायम रहनेछ ।

मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु भएको मौसमविद् श्रेष्ठले जानकारी गराएका छन् । आज उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ ।

काठमाडौँ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जानकाी गराएको छ । देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ ।

देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणलीले प्रभाव पर्ने छ । हिजोदेखि शुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने जानकारी गराइएको छ । भोलि एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुन ःपश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठले बताएका छन् । देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो ।

आज वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले जानकारी गराएका छन् । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा भएको छ ।