चितवन, माघ १० । नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा सातै प्रदेश तथा जिल्ला शाखाका महिला उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी माघ १६ र १७ गते चितवनमा हुने भएको छ । सो सम्मेलनमा पत्रकार महासंघका केन्द्रका पूर्व सदस्य, पदाधिकारी लगाएतका महिला पत्रकारलाई सम्मान समेत गरिने कार्यक्रम रहेकोे छ ।
महिला पत्रकार सँग सरोकार राख्ने महिला पत्रकारका विभिन्न मुद्धामा केन्द्रित रहने उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिला पत्रकारहरुको समेत सहभागिता हुने भएको छ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट तीन सयको हारहारीमा पत्रकार महिलाको सहभागी हुने नेपाल पत्रकार महासंघ सचिव तथा महिला समितिकी संयोजक लक्ष्मी पुनले जानकारी गराएकी छिन् ।
भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार समेत उनले बताएकी छिन । उनले भेलाले पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति एवम् नेतृत्व क्षमतालाई थप बलियो बनाउने तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देशन गर्ने विश्वास महासंघले लिएको प्रस्ट्याएकी छिन् ।
भेलालाई सफल पार्नका लागि चितवन शाखा कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताएका छन् । उनले भेला सम्पन्न गर्नका लागि विभिन्न १६ वटा उपसमिति गठन गरिएको जानकारी गराए । सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासंघ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी गराएका गराएका छन् ।
सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासंघको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहने महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले बताएकी छिन् । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागि हुन लागि पत्रकार महिला उत्साहित भएको समेत अर्यालले बताएकी छिन् ।