ललितपुर महानगर र मुक्तिनाथ विकास बैंक बिच सहकार्य हुने

ललितपुर, माघ १० । मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ। विहिवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त बैकको शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ । यस बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा ललितपुरको, कुपण्डोलमा १०२ औं शाखाको रुपमा औपचारिक सेवा शुभारम्भ गरेको हो ।

बैकको शाखा कार्यालय उद्घाटन गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले निकट भविश्यमा नै महानगर र बैकबीचको संस्थागत सम्बन्ध स्थापित गर्ने वताए। मेयर महर्जनले भने,‘मुक्तिनाथ विकास बैकले बहन गरेको संस्थागत सामुदायिक उत्तरदायित्व उदाहरणीय रहेको छ। अव ललितपुर महानगरपालिका पनि मुक्तिनाथ विकास बैकसंग सहकार्य गर्न चाहान्छ।’ उनले ललितपुर महानगरपािलकाभित्रको बैंकिङ्ग कारोवारमा मुक्तिनाथ विकास बैकले सहज र सरल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास समेत व्यक्त गरे।मुक्तिनाथ विकास बैकका ब्राण्ड एम्बेस्डर तथा लोकप्रिय हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मस)ले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नुका अलवा सामाजिक उत्तरदायित्व पनि वहन गरेको यस्तो बैकसंग जोडिन र सहकार्य पाउँदा गौरवान्वित भएको वताए। धुर्मसले भने,  ‘मुक्तिनाथ विकास बैक हाम्रो दुःख, सुखको सारथी हो, यो बैक नेपालमा भएका सबै बैकहरुभन्दा पृथक बैक हो।’

बैकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले २०६३ सालमा स्याङ्जाबाट सुरु भएको यस बैकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गरेको र आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने वताए। श्रेष्ठले भने, बैकले १२ वर्ष पूरा गरेको छ, यस बैकको सबै स्थिति राम्रो छ । आम नागरिकहरुसंगको सामिप्यताले अझै सफलता हासिल गर्न सक्नेछौ।’ उनले सामाजिक कार्यमा समेत बैकले अग्रणी भूमिका निर्वाह गरेको वताउँदै महानगरपालिकासंग हातेमालो गर्न तयार रहेको वताए।
उद्घाटन समारोहमा मन्तब्य राख्दै फ्रेण्डस् क्लवका अध्यक्ष श्री राजीव राज पौडेलले बैंकको सफलताको लागि शुभकामना व्यक्त गरे। पौडेलले आम नागरिकहरुलाई उद्यमशील बनाउन बैकको महत्वपूर्ण भूमिका हुने वताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए। यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

बैकको उद्घाटन समारोहका सभाध्यक्ष तथा सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

मुक्तिनाथ विकास बैंकले काठमाण्डौ उपत्यकाभित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गदै आएको छ। बैकले इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि यथाशीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारी गरिरहेको पनि बैकद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।