काठमाडौँ, माघ १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउने कार्यमा सक्रिय रहेको बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा पौडेलले देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उनीहरुकै इतिहास मेटाउन सरकार लागेको र यसका विरुद्ध कांग्रेस आन्दोलनमा उत्रने जानकारी गराएका छन ।
पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनि दिएका छन् । जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष एवं कांग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कसैले सिध्याउन नसक्ने बताएकी छिन् । देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, अर्कोलाई सक्छु भन्नेहरु आफैँ सकिनेछन् ।
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाएका छन् । देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त रहेको बताउँदै उनले भने,यो देशका लागि खतरा हो । सरकारका हरेक गतिविधिले गर्दा देशलाई नोक्सान पुगिरहेको छ ।
जीपी कोइराला फाउण्डेशन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठ, राष्ट्रिय सभाकी सांसद धना खतिवडा, जीपी कोइराला फाउण्डेशन प्रदेश–३ संयोजक रीता खनाल, पूर्वसांसद रामकृष्ण चित्रकारलगायतले कांग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा देशलाई सङ्कटबाट बचाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो ।