कोटेश्वर–कलङ्की सडक उद्घाटन सँगै हस्तान्तरण

काठमाडौँ, माघ १४ । नेपाल सरकारलाई चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा सोमबार आयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उनीहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको जानकारी गराएका छन् । सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चीन सरकारले नेपाललाई सहयोग गर्दै आएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलङ्की– महाराजगञ्ज सडक(दोस्रो खण्ड) मा दोहोरिइन नदिने उनले प्रतिबद्धता जनाएका छन् । खानेपानीको पाइप, बिजुलीको खम्बालगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन समेत दिएका छन् । समस्याको सामधान आफ्नो वशमा नभए मन्त्रिपरिषद्मा लैजानु पर्ने बताउँदै उनले भने, हामी समाधान गर्छौ तर निर्माण कम्पनी सामान र सामथ्र्य लिएर उसै बस्नुपर्ने अवस्था आउन दिनुहुँदैन ।

नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको जानकारी गराएका छन् । यो सडकले चीनको नै सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको उनले स्पष्ट पारे । नेपाल र चीनका बीचमा मित्रवत् सम्बन्ध अझै बलियो बन्दै गएको पनि उनले सुनाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सबै पक्षको सहयोगका कारण सडक निर्माण सम्पन्न भएको जानकारी गराएका छन् ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो चरणको काम चाँडो शुरु हुने बताएका छन् । दोस्रो चरणको कामलाई चाँडो शुरु गरेर समयमा सम्पन्न गर्न विभाग लाग्ने उनले बताए । पाँच वर्ष पहिले निर्माण शुरु भएको यो सडकको निर्माण गत महीना सम्पन्न भएको थियो ।