शिक्षण संस्थाको सहयोगमा गौ संरक्षण

चितवन, माघ १४ । जिल्लामा निजी क्षेत्रबाट बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले प्राविधिक र आर्थिक सहयोग गर्ने भएको बताइएको छ ।

गाईलाई मासिक १२ बोरा चोकर उपलब्ध गराइने इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायले बताएका छन् । एक बोरा चोकरको रु एक हजार दुई सय पर्दछ । कलेजमा स्नातक तहमा पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थी र प्राध्यापकले ती गाईको उपचार, औषधि, शिविर, खोप, बाझोपन परीक्षणलगायतको व्यवस्थापन गर्ने उपाध्यायले बताएका छन् ।
स्थानीय जातको गाईको संरक्षणमा सहयोग पु¥याउन लागिएको कलेजका अध्यक्ष चूडामणि खनालले जानकारी गराए । बागिश्वरी आध्यात्मिक परिषद्ले गाईको संरक्षण गर्दै आएको छ ।

पवित्र तीर्थस्थल देवघाट जाने बाटोमा गौ संरक्षण केन्द्र रहेको र स्थानीय जातिका दुई सय गाईको संरक्षण गरिँदै आएकोे छ । सो गाईको मूत्रबाट औषधि बनाइन्छ । दाताकै सहयोगमा स्थानीय जातको गाई संरक्षण गरिँदै आएको केन्द्रका अध्यक्ष टङ्कनाथ पौडेलले बताएका छन् ।