ओखलढुङ्गा, माघ १४ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालनमा ल्याएको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जानकारी गराएको छ । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताएकी छिन् ।
उनले खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा आठ वटै स्थानीय तहका गाउँगाउँमा सरकारी घुम्ती शिविर पु¥याइने बताएकी छिन् । लिखु गाउँपालिकामा सञ्चालन भएको शिविरमा ३८४ जना र खिजीदेम्बा गाउँपालिकामा सञ्चालन भएको शिविरमा करीब ६०० जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जानकारी गराएको छ । गाउँमा सञ्चालन भएको शिविरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई बढी सुविधा प्राप्त भएको छ । सेवा लिन सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राही गाउँमै दिइएको सेवाबाट लाभाम्वित भएका छन् ।
‘क’ श्रेणीको अपाङ्गता परिचयपत्र भएका तर नागरिकता नभएका कारण सेवाबाट वञ्चित उनीहरु घरैमा सेवा पाएपछि हर्षित भएका छन् । सरकारी घुम्ती शिविर लिएर गाउँ पुगेको टोलीले शिविरस्थलसम्म पनि आउन नसक्नेलाई घरघरमै पुगेर सेवा दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले जानकारी गराएका छन् । नागरिकलाई सहज सेवा दिनकै लागि टोली लिएर गाउँ पुगेको र सो स्थानमा पनि आउन नसक्नेहरुलाई घरैमा पुगेर सेवा दिने गरेको पौड्यालले बताएका छन् ।