काठमाडौँ, माघ १४ । चालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिन र असहज परीस्थिती यथावत छ । सेवाग्राही सधै मारमा पर्ने कुरालाई मध्यनजर यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भावना अनुसार काम हुन नसक्नु दुर्भाग्यको कुरा हो । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र प्राप्त गर्न सकेका छैनन् । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको संख्या बढिरहेको कार्यालयले जानकारी गराएको छ ।
‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताएका छन् । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म छ लाख ८० हजारले अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती मध्ये अहिले चार लाख १० हजारसम्मको वितरण भइसकेको छ ।
विभागले छपाइ गरेर कार्यालयमा पठाउँदा क्रमिक रुपमा नपठाएको उनले जानकारी गराएका छन् । ती सेवाग्राही आफ्नो अनुमतिपत्र आएको छ छैन भन्ने बुझ्ने कार्यालय आउने गरेको कार्यालयले स्पष्ट पारेको छ । कति नआएको भनेपछि सजिलै फर्कने गरेको बताउँदै उनले भने, कतिले ढिलाइ भएको भन्दै कराउने गर्छन् । दिनहँु जसो आउने सेवाग्राही उसै फर्कदा निराश र आक्रोशित हुने गरेका छन् । नेपालमा पहिलो पटक एकान्तकुना कार्यालयबाट नै ‘स्मार्ट’ चालक अनुमतिपत्रको शुरु भएको प्रमुख उप्रेतीले जानकारी गराएका छन् । अहिले देशभरका यातायात व्यवस्था कार्यालयले यो सेवा दिने गरेका छन् ।
विभागले नै देशभरका कार्यालयबाट आएका आवेदनबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने गरेको छ । विभागमा भएको मेसिनको क्षमता भन्दा बढी छाप्नुपर्दा ढिलाइ भइरहेको उप्रेतीले प्रष्ट पारेका छन् । अहिले १३ महीना पहिले आवेदन दिएका सेवाग्राहीको चालक अनुमतिपत्र वितरण भइरहे पनि क्रमिक नहुँदा त्यो भन्दा पहिलेका सेवाग्राहीले समेत नपाएको बताउँदै उनले भने, चार लाख १० हजार भन्दा पुरानो अनुमतिपत्र समेत वितरण गर्न बाँकी छ । स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालकले लामो समयदेखि राजश्व तिरेको रसिद बोकेर सवारी चलाइरहेका छन् ।